९ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसरमा हरेक वर्ष मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि नेपालभर औपचारिक रूपमा सुरू भएको छ।
महिलामाथि हुने सबै प्रकारका हिंसा रोकथाम तथा अधिकार अभिवृद्धिका उद्देश्यले मनाइने यो अभियान यस वर्ष पनि देशभर विभिन्न चेतनामूलक कार्यक्रम, अन्तरक्रिया, बहस तथा जनसहभागितामूलक गतिविधिसहित सञ्चालन हुने भएको छ।
यस वर्षको नारा : डिजिटल हिंसा रोकथाममा केन्द्रित छ। सन् २०२५ को अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ तय गरिएको छ । नेपालमा भने ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा चयन गरिएको छ।
वर्तमान प्रविधिक युगमा महिलामाथि हुने ऑनलाइन दुव्र्यवहार, अपमान, बदनियतपूर्ण पोस्ट, साइबर बुलिङ, ब्ल्याकमेलिङ जस्ता डीजिटल हिंसा बढ्दै गएसँगै यस वर्षको अभियानले साइबर–सुरक्षालाई मुख्य प्राथमिकता दिएको छ।
१६ दिने अभियानको मूल उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्दै महिलामाथि हुने विभिन्न प्रकारका हिंसा तथा दुव्र्यवहार रोकथाममा समाजलाई सक्रिय बनाउनु हो ।
प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगमार्फत डिजिटल क्षेत्रका जोखिम कम गर्दै हिंसा रोकथामलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। साथै महिला तथा बालिकाको अधिकार संरक्षण, समान अवसर सुनिश्चित गर्ने तथा सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि यो अभियानसँग जोडिएको छ।
समाजमा अझै कायम विभेद, कुप्रथा र हिंसात्मक व्यवहारविरुद्ध सामूहिक रूपमा आवाज उठाउँदै तीनै तहका सरकार, गैरसरकारी संस्था, विद्यालय, समुदाय समूह, युवा र नागरिक समाज सबैको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले १९९९ मा नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालियो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि औपचारिक रूपमा मनाइँदै आएको छ ।
अभियान नोभेम्बर २५ (महिला हिंसा अन्त्य दिवस) देखि डिसेम्बर १० (मानवअधिकार दिवस) सम्म सञ्चालन हुन्छ, जसले लैङ्गिक हिंसा र मानव अधिकारबीचको अन्तरसम्बन्धलाई पनि प्रतिविम्बित गर्छ ।
कुप्रथा र हिंसा अझै चुनौती
हरेक वर्ष अभियान सञ्चालन भए पनि समाजमा महिलामाथि हुने हिंसा पूर्ण रूपमा न्यूनिकरण हुन सकेको छैन। नेपालमा अझै पनि बोक्सी आरोप, छाउपडी, दाइजोजन्य हिंसा, छुवाछुत र विभेद व्यवहार, घरेलु तथा मनोवैज्ञानिक हिंसा जस्ता समस्याहरू सामूहिक रूपमा अन्त्य हुन नसकेको सरकारी निकायहरूले स्वीकार गर्दै आएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभियानलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकार सबैलाई सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।
विशेषगरी विद्यालय, सामुदायिक संस्था, अधिकारकर्मी, स्थानीय समूह र सरोकारवाला निकायहरुले साझा अभियान रूपमा लैङ्गिक हिंसाविरुद्ध अभिव्यक्ति, बहस, काउन्सेलिङ, जनचेतना कार्यक्रम र सहयोग सेवाहरू थप मजबुत बनाउनुपर्ने मन्त्रालयको धारणा छ ।
















