Logo

८ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नका लागि आतुर रहेको बताएका छन् ।

उनले सुशासनको आधारलाई बलियो बनाउँदै, भोलिका दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी सत्ता हस्तान्तरण गरिने स्पष्ट पारेका छन् । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपश्चात् उत्पन्न भएको विषम परिस्थितिमा यो सरकार गठन भएको स्मरण गराउँदै, तत्कालीन त्रासदीपूर्ण अवस्थालाई पार लगाएर हाल सुरक्षाको अवस्था सामान्य बनाउन सरकार सफल भएको जिकिर गरे । उनले अहिलेको सामान्य परिस्थितिमा आइपुग्न सबैको अथक प्रयास र मिहिनेतको भूमिका रहेको भन्दै अब निर्धारित समयमै निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्नु वर्तमान सरकारको प्रमुख अभिभारा भएको बताए ।

गृहमन्त्री अर्यालले विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्ने सार्वजनिक खपतका लागि गरिएका कुराहरूको जवाफ सरकारले आफ्नो काम र भूमिकाबाट दिने बताएका छन् । उनले वर्तमान सरकार कसैको निगाहा वा व्यक्तिगत इच्छाले नभई देशको विशिष्ट अवस्थामा शुन्यतालाई पूरा गर्नु परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा आएको स्पष्टीकरण दिए ।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि यो सुरक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिँदै, उनले गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, आवश्यक रणनीति तय गर्ने र निर्वाचनको तयारी गरिने बताए । साथै, सरकारले निर्वाचन पूर्व, अवधि र पश्चात्का कार्यहरूमा प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको जानकारी पनि उनले दिए ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी लगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार