Logo

८ मंसिर, काठमाडौं । गत भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा भएको जेनजी आन्दोलनका बेला लुटिएको प्रहरीको हतियार काठमाडौंबाट पूर्वी नेपालसम्म पुगेको खुलासा भएको छ ।

लागूऔषध कारोबारको गिरोह पत्ता लगाउने क्रममा प्रहरीले लुटिएका दुई थान चाइनिज पेस्तोल (टाइप–५४) र २० राउण्ड गोलीसहित झापा र इलामबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये झापाको दमक–८ का सरोज पुरी लाई रानीपोखरीबाट हतियार लुट्नेमध्ये एकका रूपमा पहिचान गरिएको छ। उनको कोठाबाट एउटा पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको थियो ।

पुरीको बयानका आधारमा प्रहरीले दमक–६ का विश्व लिङ्देन लाई पक्राउ गर्‍यो। उनी नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् । विश्व लिङ्देनले आफूसँग भएको अर्को पेस्तोल इलामका साथीलाई बेचेको बयान दिएपछि प्रहरी टोली इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुगेको थियो । त्यहाँका पवन हाङसुङ्वा ले २० हजार रुपैयाँमा उक्त हतियार किनेको र माटोमुनि गाडेर लुकाएको बयान दिए। प्रहरीले उत्खनन् गर्दा रातो प्लास्टिकमा बेरेर राखेको ५ राउण्ड गोली लोड गरिएको पेस्तोल फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लागूऔषध प्रयोगकर्ताजस्तो देखिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले बरामद भएका दुवै पेस्तोल, गोली र तीनै जनालाई थप कारबाही र विस्तृत अनुसन्धानका लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । यस घटनाले लुटिएका हतियारहरूको गैरकानुनी बिक्री वितरण र त्यससँग लागूऔषध कारोबारको सञ्जाल जोडिएको गम्भीर अवस्थालाई उजागर गरेको छ ।


सम्बन्धित समाचार