Logo

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध कार्यकर्ताहरूलाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले जेनजी आन्दोलनको सुरुवाती चरणमै नेकपाले दिएको समर्थनका कारण युवाहरूले यो दललाई अभिभावक ठान्न थालेको जिकिर गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि युवा पुस्तालाई सबभन्दा बढी सम्बोधन गर्ने प्रयास गरिएको बताए। उनले भने, ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्‍यौं’ अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्।’

जेनजी आन्दोलनपछिको विषम अवस्था सामना गर्न, राष्ट्रको स्वाधीनता कायम राख्न र वामपन्थी दलहरूलाई एकताबद्ध गर्नकै लागि नेपाली कम्युनिष्ट पार्टी गठन भएको उनको भनाइ छ । अब भाषण कम गरेर काम धेरै गर्दै लैजाने प्रतिबद्धता जनाउँदै प्रचण्डले युवाहरूले देखेको सपना पूरा गर्ने संकल्प नेकपाले लिएको बताए ।

आफ्नो संगठन विस्तार र राजनीतिक प्रभावका लागि नेकपाले आगामी १२ पुस देखि देशका विभिन्न शहरमा एकता सभा आयोजना गर्ने भएको छ। प्रचण्डका अनुसार, पहिलो एकता सभा कैलालीको धनगढीमा हुनेछ र त्यसपछि यो अभियान क्रमशः विभिन्न शहर हुँदै विराटनगरसम्म पुग्नेछ ।

एकता सभामार्फत निर्वाचनको वातावरण बनाउन नागरिक, दल र सरकारलाई अपिल गर्दै दबाब सिर्जना गर्ने नेकपाको उद्देश्य रहेको बताइएको छ । उनले ढिलोचाँडो सबै सच्चा कम्युनिस्ट र वामपन्थीहरू नेकपामै समाहित हुने दाबी पनि गरे ।


सम्बन्धित समाचार