९ मंसिर, काठमाडौं । । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार कोशी प्रदेशसभाको जलेको भवन र निर्माणाधीन नयाँ भवनको निरीक्षण गर्न विराटनगर पुगेका सभामुख घिमिरेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
सभामुख घिमिरेको भनाइ छ, ‘न्यायालयमा गएको छ, हामी आशावादी छौँ, न्याय ठीक ढंगबाट हुँदाखेरि संसद् पुनर्स्थापना भएर जान्छ।’ उनले संविधानले अहिले जसरी प्रतिनिधिसभा विघटन भएको छ, त्यसरी विघटन हुन सक्ने परिकल्पना नै नगरेको जिकिर गरे। ‘हाम्रो संविधानले यसरी विघटन गर्न दिँदैन,’ उनले थपे, ‘संविधान सम्मत संसद् भंग गर्ने ठाउँ छैन र संसदबाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन।’
जेनजी आन्दोलनपछि २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ का लागि निर्वाचनको मिति तोकेका थिए । सभामुख घिमिरेले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै कदम संविधानसम्मत नरहेको बताउँदै आएका छन् ।
उनले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा समेत राष्ट्रपति पौडेलको भूमिकामाथि प्रश्न उठाउँदै भनिएको थियो? ‘राष्ट्रपतिले गरेको यो निर्णयलाई कुनै पनि सन्दर्भमा कानुनी वैधता प्रदान गर्न मिल्दैन । संवैधानिक प्रक्रिया उल्लंघन गर्नु कानुनी दृष्टिले असंगत मात्र होइन, लोकतान्त्रिक राज्यको मूलभूत संरचनाको पनि हनन हो।’ सभामुख घिमिरेले मंगलबार कोशी प्रदेश पुगेर दिएको अभिव्यक्ति उनले सर्वोच्चमा पठाएको लिखित जवाफकै वरिपरि रहेको देखिन्छ।
















