Logo

९ मंसिर, काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहसले औपचारिकता पाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको आगामी ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै देशभरीका नेता-कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका छन् ।

पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ। पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु।’

पोखरेलले वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली लाई नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्न र पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्न अपेक्षा राखेका छन्। उनले ओलीलाई ‘अभिभावकीय भूमिका’ मार्फत सहज निकासका लागि आग्रह गरेका छन् । स्रोतका अनुसार, पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अगाडि सारेकी हुन् ।

यद्यपि, पोखरेलले हाल लिखित वक्तव्य मात्र जारी गरेका छन् भने महाधिवेशन प्रतिनिधि छनौटपछि प्यानल घोषणा गर्ने तयारी रहेको बताइएको छ । पोखरेलको यो घोषणासँगै एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि औपचारिक रूपमा प्रतिस्पर्धा सुरु भएको छ ।

यसैबीच, नेकपा एमालेको आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउने वातावरण बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भण्डारीजस्तो वरिष्ठ र अनुभवी नेतालाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न नहुने स्पष्ट पारेका छन् ।


सम्बन्धित समाचार