Logo

१० मंसिर, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्ने भएका छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेको विराटनगर लगातार तीन खेलमा विजय हासिल गर्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। समान अंक भए पनि नेट रनरेटका कारण सुदूरपश्चिम शीर्ष स्थानमा छ। आजको खेलमार्फत विराटनगरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ।

यस्तै, चितवन राईनोजका लागि आजको खेल महत्त्वपूर्ण छ। दुईमध्ये एक खेलमा मात्र जित हात पारेको चितवन दोस्रो जीतको खोजीमा हुनेछ। तालिकाको पाँचौं स्थानमा रहेको राईनोजले आज सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रने छ ।

दुवै टोलीका लागि अंकतालिकामा उक्लिने अवसर आजको खेलसँग जोडिएको छ ।

मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी १९ ओभर १ बलमा १३५ रनमै समेटियो ।

लुम्बिनीका शेर मल्लले २७ तथा दीलिप नाथले २५ रन बनाए पनि अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि टोली पराजयबाट उठ्न सकेन। काठमान्डुका मिलिन्द कुमार र गेर्हार्ड इरास्मसले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। काठमान्डुका कप्तान करण केसीले अन्तिम चरणमा मात्र ११ बलमा अविजित ३४ रनको द्रुत पारी खेले। लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिएर काठमान्डुको रन रोक्ने प्रयास गरेका थिए ।

यो जितसँगै काठमान्डुले ४ खेलबाट ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लुम्बिनी भने ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ।

दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ टोली सहभागी छन्। गत मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।


सम्बन्धित समाचार