Logo

१० मंसिर, काठमाडौँ । नेपाल उखु उत्पादक महासंघले बाँकी अनुदान भुक्तानी र उखुको मूल्य समायोजनका माग पूरा नभए मंसिर १४ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा किसानहरूले सरकारले समयमै ध्यान नदिए कठोर कदम चाल्न बाध्य हुने बताएका हुन्।

महासंघका अनुसार विगत वर्षको प्रतिक्विन्टल ३५ रुपैयाँको दरले हुन आउने करीब ७५ करोड रुपैयाँ अनुदान रकम अझै भुक्तानी हुन बाँकी छ। किसानहरूले उक्त रकम आगामी मंसिर १३ गतेभित्र भुक्तानी हुनैपर्ने माग राखेका छन्।

उखु किसान महेशचन्द्र यादवले सरकारले बारम्बार प्रतिबद्धता जनाए पनि रकम छुट्टै बहानामा रोकिएको आरोप लगाए। “७५ करोड अनुदान रकम १३ गतेभित्र नआए आन्दोलन अपरिहार्य हुन्छ,” यादवले भने।

किसानहरूको अर्को प्रमुख माग उखुको मूल्य निर्धारणसम्बन्धी छ। उत्पादन लागत, चिनीको बजार मूल्य तथा किसान, उद्योगी र सरकारबीचको सहमतिका आधारमा प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने उनीहरूको जोड छ। किसानहरूले मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता अपनाउन र वार्षिकरूपमा मूल्य पुनरावलोकन गर्न पनि माग गरेका छन्।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै किसानहरूले सोमबारै कृषिमन्त्री डा. मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।

माग पूरा नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम गर्ने, र मंसिर १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै हरिवनमै अनिश्चितकालीन राजमार्ग अवरोध सुरू गर्ने चेतावनी किसानहरूको छ।

महासंघले किसानलाई थर्काउने वा आन्दोलन रोक्न दबाब दिने प्रयास भए आन्दोलनलाई अझ कडा रूपमा अघि बढाउने चेतावनी पनि दिएको छ।


सम्बन्धित समाचार