Logo

१० मंसिर, काठमाडौँ । बंगालको खाडीमा नयाँ चक्रवातीय प्रणाली तीव्र बनेपछि भारतको मौसम विभाग (आईएमडी) ले चेतावनी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘सेनयार’ नामक चक्रवात आगामी २४ घण्टाभित्र जमिनतिर उन्मुख हुँदै तटीय क्षेत्रमा बज्रिने सम्भावना प्रबल बनेको छ। विशेषगरी अन्डमान सागर क्षेत्रको मौसम छिटै बिग्रिने आकस्मिक चेतावनीसमेत आईएमडीले सार्वजनिक गरेको छ।

मौसम पूर्वानुमान संस्था स्काइमेट वेदरले भने चक्रवात सेनयार ४८ घण्टाभित्र भारतीय भूभागमा प्रवेश गर्ने अनुमान गरेको छ। यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको वेगमा हावा बहने, साथमा आँधीबेहरी र भारी वर्षा हुने पूर्वानुमान छ।

चक्रवातको प्रत्यक्ष प्रभाव तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अण्डमान तथा निकोबार टापुहरूमा बढी पर्ने बताइएको छ। यिनै राज्यहरूमा यतिबेला वर्षा, समुद्री प्रभाव, तटीय क्षेत्रको कटान र बाढीको जोखिम उच्च छ।

आईएमडीले डिसेम्बर १ सम्म दक्षिण भारतका धेरै राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातले असर पार्न सक्ने प्रदेशहरूमा ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्र पनि समावेश छन्।

सम्भावित क्षति न्युनिकरणका लागि तटीय क्षेत्रमा सुरक्षाकर्मी, विपद् व्यवस्थापन टोली र प्राविधिक समूह परिचालन भइरहेका छन्। स्थानीय प्रशासनले माछा मार्न जाने समूहलाई समुद्रमा नजान आग्रह गरेको छ भने संवेदनशील क्षेत्रका बासिन्दालाई आकस्मिक तयारीमा रहन अनुरोध गरिएको छ।

बंगालको खाडीबाट उत्पन्न हुने चक्रवातीय गतिविधि यस वर्ष असामान्य रूपमा सक्रिय बनेका कारण दक्षिण भारतमा हावाहुरी र वर्षाको जोखिम अझै केही दिन कायम रहने सम्भावना मौसमविद्हरूले बताएका छन्।


सम्बन्धित समाचार