१० मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा मङ्गलबार साँझ आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
झापाको गौरादह नगरपालिका–२ निवासी ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान जनकपुरस्थित प्रादेशिक अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पोखरेलले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–७ को डुमडुमे मन्दिर अगाडि अचानक पेट्रोल छर्की आगो लगाएका थिए। घटनापछि स्थानीयवासी र प्रहरीले उनलाई तत्काल उद्धार गरी लालबन्दीको एक स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको थियो। अवस्था गम्भीर भएकाले उनलाई सोही राति जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार पोखरेलको बुधबार बिहान करिब २ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो। घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















