Logo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै संगठनात्मक संरचनामा महत्त्वपूर्ण हेरफेर गरेको छ ।

पार्टीको सचिवालय बैठकले हाल प्रदेश इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई उक्त जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । सहमहामन्त्री विपीन आचार्यका अनुसार, निर्वाचन नजिकिएकाले ती नेताहरूलाई अब सम्पूर्ण रूपमा चुनाव केन्द्रित गतिविधिमा परिचालन गर्नुपर्ने भएकाले उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

पार्टीको निर्णयअनुसार, प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिइएको छ र उनीहरूलाई आगामी निर्वाचन केन्द्रित विशेष भूमिका प्रदान गरिनेछ । यससँगै, रिक्त रहेका प्रदेश इञ्चार्ज पदहरूमा अब केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ। यद्यपि, तत्कालका लागि भने नयाँ इञ्चार्जहरू तोकिएका छैनन् ।

यसअघि कोशीमा सन्तोष परियार (जसले पार्टी छाडिसकेका छन्), मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकालले इञ्चार्जको भूमिका सम्हालेका थिए। यो निर्णयले रास्वपाको निर्वाचन रणनीतिमा नयाँ मोड ल्याउने देखिएको छ ।


सम्बन्धित समाचार