Logo

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेपछि नेताहरू बिहीबारको केन्द्रीय कार्यसमिति बैठकअगाडि सहमति जुटाउन बिहानैदेखि सक्रिय भएका छन् ।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का आआफ्नो समूहका नेताहरूसँग छलफलमा जुट्दै गर्दा विवाद सुल्झाउने प्रयास भने निकै पेचिलो बनेको छ । संस्थापन पक्षले विवाद मत्थर पार्न पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अघि सारेको छ। तर, यो प्रस्तावमा संस्थापनले एउटा कडा सर्त जोडेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको विशेष महाधिवेशनको माग सम्बन्धी निवेदन फिर्ता लिनुपर्ने ।

यद्यपि, संस्थापन पक्षको यो सर्तलाई महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधर नेताहरूले ठाडै अस्वीकार गरेका छन्। उनीहरूको तर्क छ कि यदि साँच्चै पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने हो भने विशेष महाधिवेशनको निवेदन त्यसै पनि स्वतः निस्तेज हुन्छ र फिर्ता लिइरहनु पर्दैन। विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले त ‘निवेदन फिर्ता लिनुपर्छ’ भन्नुको अर्थ संस्थापन पक्षको नियत महाधिवेशन गर्ने नभई केवल तालिका ल्याएर विवाद टार्ने मात्र रहेको भन्दै गम्भीर शंका व्यक्त गरेका छन् ।

विधानतः निर्वाचनअगाडि नियमित महाधिवेशन नगर्दा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यताबाट जोगिन सभापति देउवा तालिका ल्याउन तयार देखिए पनि, निवेदन फिर्ताको सर्तका कारण विवाद समाधानमा अझै सहमति जुट्न सकेको छैन ।

यही शंकाका बीच विशेष महाधिवेशनको माग गर्ने महाधिवेशन प्रतिनिधिहरू आजै राजधानीमा भेला हुँदैछन् । यसरी देउवा, खड्का, थापा, शर्मा र शेखर कोइरालाबीच हुने भनिएको संवादले विवादको गाँठो फुकाउँछ वा थप बल्झाउँछ भन्ने चासो बढेको छ।


सम्बन्धित समाचार