१० मंसिर, काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहा गाउँमा एउटा हृदयविदारक घटना बाहिरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका पतिकी २५ वर्षीया पत्नी तरिमा खातुनको शव घरकै पछाडिपट्टि गाईबस्तुका लागि भुस्सा राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा फेला परेको छ । उनको सोमबार राति नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई बोरामा हालेर पुरिएको र आलोमाटो माथिबाट भुस्साले ढाकिएको अवस्थामा भेटियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार तरिमाका पति महमद शेख आदिल साउदी अरबमा रोजगारीका लागि गएको बेला परिवारका ८/९ जना सदस्य मिलेर उनको हत्या गरेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार, श्रीमतीको हत्या भएको बेला श्रीमान् विदेशमा हुनु र घटनालगत्तै ससुरा शेख अलि मोहम्मदसहित परिवारका सबै सदस्यहरू फरार हुनुले उक्त हत्यामा पूरै परिवारको संलग्नता रहेको देखाउँछ। झन् दुःखद त, मृतक महिलाका डेढ वर्षीय छोरा मोहम्मद आरिफसमेत परिवारसँगै बेपत्ता भएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो हत्याको पछाडि घरायसी विवाद र यौन सम्बन्धको विषय जोडिएको देखाएको छ। तरिमाको करिब ३ वर्षअघि मात्र विवाह भएको थियो । टाउको र खुट्टामा गहिरो चोट देखिएकी तरिमाको हत्यामा प्रयोग भएको एउटा चक्कुसमेत घटनास्थलबाट बरामद भएको छ ।
घटनाको अनुसन्धान जारी रहे पनि, आफन्तबाटै भएको यो जघन्य अपराधले गाउँमा गहिरो त्रास छाएको छ र विदेशमा पसिना बगाइरहेका पतिको जीवनमाथि आकाशनै खसेजस्तो भएको छ । तरिमाको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।

















