११ मंसिर, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत सामग्री प्रसारण गर्ने ४८ वटा सामाजिक सञ्जाल अकाउन्टमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
काउन्सिलले विशेष अनुगमनका क्रममा फेसबुक र युट्युबमा सञ्चालन भइरहेका ती अकाउन्टहरूले अश्लील, उत्तेजक, अफवाहपूर्ण तथा सामाजिक सद्भावमा खलल पार्ने सामग्री निरन्तर सम्प्रेषण गर्दै आएको पत्ता लगाएपछि कारबाही गरिएको जनाएको छ ।
काउन्सिलका अनुसार ती अकाउन्टहरूले राष्ट्रियता, स्वाधीनता, सामाजिक मर्यादा र पत्रकारिताको मूलभूत सिद्धान्तविरुद्ध सामग्री प्रसारण गर्दै आएका थिए ।
विशेषगरी अश्लील तथा विकृत फैलाउने सामग्री, गालीगलौज, बदनाम गर्ने सामग्री, हिंसा र वैमनस्यता बढाउने प्रवृत्ति, भ्रामक तथा अतिरञ्जित शीर्षक र थम्बनेल मार्फत जनमानसमा भ्रम र त्रास सिर्जना हुने गतिविधि देखिएको काउन्सिलको निष्कर्ष छ।
अनुगमनमा समावेश ४८ मध्ये २५ वटा सामाजिक सञ्जाल अकाउन्ट आधिकारिक मिडियासँग सम्बद्ध रहेको काउन्सिलले जनाएको छ। ती अकाउन्टहरूले पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेकाले सम्बन्धित सामग्रीलाई सम्पादन वा स्थगन गर्न र आफूले चालेको कदमबारे काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको छ।
त्यससँगै, आगामी दिनमा यस्ता सामग्री प्रसारण नगर्न/नगराउन कडा रूपमा सचेत गराइएको छ ।
काउन्सिलको अनुगमनमा १० वटा सामाजिक सञ्जाल अकाउन्ट ‘मिडिया’का रूपमा प्रस्तुत भए पनि औपचारिक रूपमा दर्ता वा अभिलेख नभएको पत्ता लागेको छ।
यी अकाउन्टहरूले पत्रकारिताको आवरणमा अनैतिक सामग्री, भ्रामक सम्प्रेषण, सनसनीपूर्ण प्रस्तुति मार्फत समाचारमाध्यमको विश्वसनीयतामै आँच पुर्याउने प्रकारका गतिविधि गरिरहेका थिए ।
काउन्सिलले उनीहरूलाई अनुचित सामग्री तत्काल स्थगन गर्न र कानुनअनुसार दर्ता/अभिलेख गरी मात्र सामग्री प्रसारण गर्न निर्देशन दिएको छ।
अनुगमनमा समावेश १३ वटा फेसबुक तथा युट्युब अकाउन्टका सञ्चालकहरूको ठेगाना वा पहिचान उपलब्ध नभएको काउन्सिलले जनाएको छ । यस्ता अकाउन्टले अनियन्त्रित रूपमा अश्लीलता, हिंसा, सामाजिक विभाजन, नियोजित अफवाह फैलाइरहेको ठहर गर्दै काउन्सिलले नेपाल प्रहरी, साइबर ब्युरोलाई आधिकारिक पत्राचार गरी अनुसन्धान तथा कारबाहीका लागि अनुरोध गरेको छ।
काउन्सिलका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा ‘मिडिया’को नाममा खुलेका अनियन्त्रित च्यानल/पेजहरूले पत्रकारिताको आडमा अनुचित सामग्री विस्तार गरेको, पैसा कमाउने उद्देश्यले उत्तेजक सामग्री बढाएको, जनमानसलाई भ्रमित पार्ने समाचार बनाउने प्रतिस्पर्धा तीव्र बनाएको देखिएको छ।
काउन्सिलले यस्ता गतिविधिमाथि नियमित अनुगमन र आवश्यक कारबाही निरन्तर जारी रहने जनाएको छ ।



















