Logo

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको आकार ठूलो मात्रामा घटाउँदै २० सदस्यीय संरचनाबाट १४ जनालाई हटाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको छ।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा सचिवालय पुनर्संरचना ‘कुशलता, कार्यगत स्पष्टता र आवश्यकतामा आधारित’ रहेको उल्लेख गरिएको छ।

यससँगै प्रधानमन्त्री कार्कीको सचिवालय अब ६ सदस्यमा सीमित भएको छ । नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन् ।

विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ लाई भने सचिवालयमा यथावत राखिएको छ । तर उनकी श्रीमती संगीता श्रेष्ठ सचिवालयबाट हटाइएकी छन् । जेनजी आन्दोलनपछि ‘प्रतिनिधित्वका आधारमा’ सचिवालयमा परेका केही सदस्यलाई पनि प्रधानमन्त्री कार्कीले पदमुक्त गरेकी छन् ।

उनीहरूको भूमिकाबारे निरन्तर उठ्दै आएको प्रश्न, कार्यक्षेत्र अस्पष्टता र सार्वजनिक आलोचना बढिरहेको पृष्ठभूमिमा हटाइएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले सचिवालय संख्या कटौतीलाई “कारोबारको प्रभावकारिता बढाउने र अनावश्यक दोहोरोपन हटाउने” प्रयासको रूपमा व्याख्या गरेका छन् ।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेयताका पछिल्ला केही दिनमा प्रशासनिक संरचनामा कडाइका कदम उठाउँदै आएकी छन्। सचिवालय पुनर्संरचना पनि सोही अभियानको निरन्तरता भएको बताइएको छ।

प्रधानमन्त्री कार्कीको यो कदमलाई सरकारी संयन्त्रलाई ‘संक्षिप्त, उत्तरदायी र कामकाजी बनाउने’ प्रयत्नका रूपमा विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार