११ मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुने छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा पहिलो खेल बिहान ११:४५ बजे, दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । भने दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले आज सुदूरपश्चिम रोयल्सको सामना गर्दै लिगमा पुनरागमन गर्ने लक्ष्य राखेको छ । तीन खेलमा एक जितसहित लुम्बिनी छैटौँ स्थानमा छ।
दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम लगातार तीन खेलमा विजय हासिल गर्दै ६ अङ्कसहित शीर्ष स्थानमा उभिएको छ। उत्कृष्ट लयमा रहेकाले आज पनि सुदूरपश्चिमले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवै टोलीले यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेका छन् । अनिल शाह (जनकपुर) र कुशल भुर्तेल (पोखरा) को कप्तानीमा दुवै टोली आज लिगको पहिलो जित निकाल्ने दाउमा छन् ।
जनकपुरको ‘आमा स्पेसल जर्सी’ अभियान
जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्धको आजको खेलमा विशेष ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ ।
जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाका अनुसार प्रत्येक खेलाडीले आफ्नै आमाको नाम लेखिएको जर्सी लगाएर मैदानमा उत्रनेछन् । यो जर्सी अगामी खेलमा पनि प्रयोग गरिने र त्यसपछि अक्सनमार्फत बिक्री गरिने छ । जर्सी बिक्रीबाट सङ्कलित रकम आमा समूहलाई सहयोगस्वरूप प्रदान गरिने जनाइएको छ ।
सुरुआती दुई खेलमा हार व्यहोरेको जनकपुरले आज भावनात्मक महत्त्व बोकेको जर्सीसहित मैदानमा उत्रिँदै पहिलो जित खोज्नेछ।

















