११ मंसिर,काठमाडौं । हङकङको ताइ पो क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार घटनामा परी ४५ जना गम्भीर घाइतेलाई अस्पतालमा उपचार भइरहेको छ।
आगलागी हिजो दिउँसो शुरू भई बेलुकीसम्म फैलिएको थियो। आगो सुरू भएको १८ घण्टासम्म—आज बिहानसम्म पनि—पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। बीबीसीलाई उद्धृत गर्दै हङकङ प्रहरीले आगलागीको दौरान २७९ जना हराइरहेको जानकारी दिएको छ। आगलागीको वास्तविक कारण भने अझै स्पष्ट भएको छैन।
घटनापछि प्रहरीले भवन निर्माण कम्पनीका तीन जनालाई पक्राउ गरेको छ। भवन निर्माणमा लापरबाही गरेको आरोपमा कम्पनीका दुई सञ्चालक र एक सल्लाहकार पक्राउ परेका हुन्। आगोलाग्दा उक्त कम्प्लेक्समा मर्मतकार्य भइरहेको बताइएको छ।
गुणस्तरहीन निर्माण सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको हुनसक्ने अनुमान अग्निनियन्त्रकहरूले गरेका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

















