Logo

 ११ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलको इजलास नम्बर ३ मा परेको छ। अदालतमा यो चौथो पेशी भए पनि सुनुवाइ भने अझै सुरु भएको छैन।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त बेन्चमा मुद्दा रहेको छ।

गत हप्ता तोकिएको पेशी लामिछाने पक्षका कानुन व्यवसायीले स्थगित माग गरेपछि टरेको थियो। कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएपछि पछिल्लो पेशी निर्धारण भएको हो।

यसअघि कात्तिक १३ गते पनि छविलाल जोशी पक्षले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि दुई न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ प्रक्रियामा लैजान आदेश दिएका थिए।

सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका उनीहरूले बिगो बमोजिमको रकम बुझाएर थुनाबाटै बाहिर बस्दै मुद्दा लड्न माग गरेका छन्। यस्तै, उच्च अदालतले लामिछानेसँगै जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो।

यसअघि पनि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो।


सम्बन्धित समाचार