Logo

११ मंसिर, काठमाडौँ । गत भदौ २४ गते देशका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा काठमाडौंको चुच्चेपाटीसहित सुनसरी र मोरङस्थित भाटभटेनी स्टोरहरूमा भएको आगलागीबाट भेटिएका १२ जना मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

आगलागीपछि स्टोरको सरसफाइ गर्ने क्रममा फेला परेका यी शवहरू अत्यधिक जलेर केवल कंकाल र खरानीमा परिणत भएकाले मृतकको लिंगसमेत पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईका अनुसार, मृतकहरूको पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा डीएनए परीक्षणको प्रयास गरिए पनि उच्च तापक्रमका कारण जलेको कंकाल र खरानीबाट आवश्यक नमुना निकाल्न नसकिएपछि परीक्षण असफल भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले समेत नमुना संकलन गर्न नसकेपछि अब ुकंकालबाट डीएनएु निकाल्न सक्ने युरोपेली देशहरूमा उपलब्ध उच्च प्रविधि प्रयोग गर्नेबारे छलफल भइरहेको एसपी भट्टराईले जानकारी दिए।

यद्यपि, भाटभटेनीले प्रदर्शनको दिन स्टोरहरू बन्द रहेकाले मृतकहरू ग्राहक वा कर्मचारी नभएको स्पष्ट पारिसकेको छ। काठमाडौं प्रहरीमा आन्दोलनका क्रममा आफ्ना परिवारका सदस्य हराएको भन्दै केही निवेदन परेका भए पनि शवको अवस्था अत्यन्तै जलेको हुँदा हुलियाको आधारमा थप अनुसन्धान अगाडि बढाउन कठिन भएको प्रहरीको भनाइ छ।

यसैबीच, मोरङ र सुनसरीस्थित भाटभटेनीमा भेटिएका शवरअस्थिपञ्जरहरूको पहिचान नभए पनि नमुना संकलन गरी स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरिसकिएको जिल्ला प्रहरी कार्यालयहरूले बताएका छन्। समग्रमा उक्त प्रदर्शनमा ७६ जनाको मृत्यु भएको र २५ सय ७१ जना घाइते भएको तथ्यांक रहे पनि भाटभटेनी घटनाका यी १२ जना मृतकको पहिचान रहस्यमय बनेको छ।


सम्बन्धित समाचार