Logo

११ मंसिर, काठमाडौं । यसपटकको निर्वाचन आचारसंहितामा पहिलोपटक हरित निर्वाचन (ग्रिन इलेक्सन) आचरण सम्बन्धी प्रावधानहरू समावेश गरिएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको बुँदा नम्बर ३६ ले अब सबै राजनीतिक दल, उम्मेदवार, र उनीहरूका प्रतिनिधिहरूलाई अनिवार्य रूपमा ग्रिन इलेक्सन आचरणको पालना गर्नुपर्ने व्यवस्था गरेको छ । यस प्रावधानले निर्वाचन प्रचारप्रसारलाई वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुग्ने गरी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

नयाँ आचारसंहिता अनुसार, निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा वातावरणमैत्री सामाग्री को प्रयोग गर्नुपर्नेछ, र प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ । साथै, प्रचारप्रसारमा डिजिटल माध्यमलाई प्राथमिकता दिनुपर्ने र ध्वनि, जल तथा वायु प्रदूषण न्यून गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने प्रावधान राखिएको छ । ग्रिन इलेक्सनको आचरणलाई प्रोत्साहन गर्न इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने तथा कार्यक्रम समाप्त भएपछि प्रयोग भएका सामाग्रीहरू अनिवार्य रूपमा संकलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने विषयहरू पनि यसमा समेटिएका छन् ।

आचारसंहिताको कडाइका साथ पालना गराउनका लागि तीन तहका अनुगमन समितिहरू गठन गरिनेछन् । निर्वाचन आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र निर्वाचन आचारसंहिता अनुगमन टोलीहुनेछन् । यी समितिहरूले आचारसंहिता उल्लंघनका घटनाहरूको अनुगमन गर्न नेपाल प्रहरीसहित राज्यका अन्य निकायको सहयोग लिन सक्नेछन् । उल्लङ्घनका घटनाको छानबिनका लागि प्रमाण जुटाउन दृश्यको छायांकन तथा अन्य विद्युतीय उपकरणहरूको प्रयोग गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।


सम्बन्धित समाचार