Logo

११ मंसिर,ठोरी  । ठोरी गाउँपालिका घ्याङडाँडा क्षेत्रका चर्चित अङ्ग्रेजी शिक्षक तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दल बहादुर स्याङ्बो अहिले ‘डाक्टरको बुवा’ को रूपमा परिचित भएका छन्। तीनै छोराले डाक्टर बन्ने बाटो रोजेपछि ठोरीका चोक, चौतारा, चिया पसलमा मात्र नभई सामाजिक सञ्जालमा पनि उहाँको चर्चा जोरोमा छ।

करीब तीन दशकदेखि अङ्ग्रेजी शिक्षकका रूपमा ठोरी क्षेत्रमै चर्चित स्याङ्बोले शिक्षण क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्। पछिल्लो समय प्रधानाध्यापक बनेपछि पनि उहाँको शिक्षण शैली र विद्यार्थीप्रतिको समर्पणको चर्चा पालिकाभर हुँदै आएको थियो। तर यसपटक उहाँका तीनै छोराले डाक्टर बन्ने बाटो रोजेपछि उहाँको परिचय नै फेरिएको छ। अब उहाँलाई ‘मास्टरसाब’ नभई ‘डाक्टरसाबको बुवा’ भनेर चिनिने भएको छ।

शिक्षक स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर अध्ययनमा प्रवेश गरेका छन्। जेठो छोरा छिरिङ स्याङ्बो एमबिबिएस अध्ययन पूरा गरेर थप अध्ययनका लागि बेलायत जानुभएको छ। माइलो छोरा विश्वजीत भैरहवामा एमबिबिएसको अन्तिम वर्षमा अध्ययनरत छन् भने कान्छो छोरा अर्जुनले चिकित्सा शिक्षा आयोगको समावेशी क्लस्टरमा पूर्ण छात्रवृत्ति प्राप्त गर्दै डाक्टर बन्ने बाटो सुनिश्चित गरेका छन्।

शिक्षक स्याङ्बोले आफ्नो अनुभूति व्यक्त गर्दै भने, “सारा मेहनत र लगानी सफल भएको अनुभूति भएको छ। छोराहरुले आफुले देखाएको बाटो पहिल्याएकोमा मन अत्यन्त खुसी छ।”

सामान्य आर्थिक पृष्ठभूमि भएका स्याङ्बोका लागि छोराहरुको पढाइमा लगानी गर्नु सजिलो थिएन। जेठो छोरा पढाउने बेला जागिरको तलब पर्याप्त नहुँदा बाख्रा र कुखुरा पालेर पनि खर्च जुटाउनुपरेको थियो। कहिले ऋण लिनुपर्ने, कहिले ऋण तिर्नुपर्ने चुनौतीका बाबजुद, शिक्षक स्याङ्बोले आफ्नो कडा मेहनत र लगनशीलताले सफल परिणाम दिएको अनुभव गरिरहेका छन्।

उहाँले थपे, “तर अब सजिलो छ, जेठो कमाउने भैसक्यो, पहिले जस्तो तनाव हुँदैन।”

चाखलाग्दो कुरा के भने, शिक्षक स्याङ्बोका तीनै छोराले १२ कक्षासम्म सामुदायिक विद्यालयमै अध्ययन गरेका थिए। यसले प्रमाणित गरेको छ कि मेहनत र लगनशीलताले सामुदायिक विद्यालयका विद्यार्थी पनि अब्बल बन्न सक्छन्।

शिक्षक स्याङ्बोको जीवनकथा र संघर्षले ठोरी गाउँका अन्य अभिभावक र शिक्षकहरूलाई पनि प्रेरित गरेको छ। साधारण आर्थिक पृष्ठभूमि भए पनि परिवार र शिक्षा प्रति समर्पणले ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण उहाँले पेश गरेका छन्।

ठोरीका स्थानीय बासिन्दा र शिक्षकहरूमाझ स्याङ्बोको परिवारलाई प्रेरणाको रूपमा लिइने गरिएको छ। स्थानीय शिक्षक संघका सदस्यहरूले पनि भने, “सामुदायिक विद्यालयमै पढेर तीनै छोराले डाक्टर बन्ने बाटो रोज्नु एउटा अद्वितीय उदाहरण हो। यसले ठोरीका अन्य विद्यार्थी र अभिभावकलाई ठूलो प्रेरणा दिनेछ।”


सम्बन्धित समाचार