काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई ठूलो झट्का लागेको छ ।
पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा जनताको अधिकारको रक्षा सम्भव नरहेको भन्दै पार्टी परित्याग गरेका हुन् ।
यादवको यो राजीनामा यस्तो समयमा आएको छ, जब यसअघि नै जसपाका अर्का प्रभावशाली नेता राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरूले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरिसकेका छन् । श्रेष्ठसहितका ती नेताहरू बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् ।
जसपा मधेश प्रदेश अध्यक्षले नै पार्टी छाडेको घोषणा गरेपछि मधेशमा पार्टीको संगठन र आगामी राजनीतिक समीकरणमा यसको ठूलो असर पर्ने देखिन्छ मधेशकेन्द्रित दलहरूबाट अपेक्षित विकास र अधिकार प्राप्तिको सम्भावना क्षीण भएको भन्दै यादवले दल परिवर्तनको निर्णय लिएका छन् ।

















