११ मंसिर, काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा एकताको नयाँ प्रयास सुरु भएको छ ।
घनश्याम भूसालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्त बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । दुवै पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो एकताको घोषणा र भावी योजनाबारे जानकारी गराएका छन् ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ । पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तले प्रयोग गर्दै आएको ुहँसियाु लाई नै कायम गर्ने निर्णय भएको छ । यद्यपि, पार्टीको झण्डामा भने प्रचलित कम्युनिस्ट पार्टीको झण्डासँगै बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी विशेष संकेत प्रयोग गरिने भएको छ ।
यस सहमतिसँगै अब केही दिनभित्रै औपचारिक रूपमा एकता घोषणा कार्यक्रम सम्पन्न गरिने र त्यसको दुई महिनाभित्रै राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको पनि नेता पौडेलले बताएका छन् । यस एकताले नेपालको कम्युनिस्ट वृत्तमा नयाँ शक्ति निर्माणको संकेत गरेको छ।

















