११ मंसिर, काठमाडौँ । भर्खरै गठन भएको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै जेनजी पुस्ताका युवाहरू काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
जेनजी आन्दोलनले ल्याएको परिवर्तनपछि बनेको नयाँ सरकारप्रति पनि असन्तुष्टि जनाउँदै उनीहरू ब्यानर र प्लेकार्डसहित सडकमा आएका हुन् । प्रदर्शनमा उत्रिएका युवाहरूले टाउकामा कालो पट्टी बाँधेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘सुशीलाको पाराले, दुःख पाए साराले’ ओलीको खेलमा–सुशीलाको झेलमा, जेनजी सबै जेलमा र जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’ जस्ता सरकार र प्रमुख नेताहरूलाई लक्षित गरिएका आक्रोशपूर्ण नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
उनीहरूले ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’ भन्ने आह्वान गर्दै जेनजीका मागहरूलाई बेवास्ता गरिएको भन्दै सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । यो प्रदर्शनले जेनजी आन्दोलनको क्रममा उठेका विषयहरूलाई सम्बोधन गर्न नयाँ सरकारलाई थप दबाब दिएको छ ।

















