११ मंसिर,वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका–१ हरैयामा नाबालिकासँग विवाह गर्न लागेका चिनियाँ नागरिक सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार मध्यराति विवाहको तयारी भइरहेको अवस्थामा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बाबुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उक्त विवाह नाबालिकासँग हुन लागेको पुष्टि भएपछि समयमै दखल दिई विवाह रोकिएको हो। नियन्त्रणमा परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार, चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको पाइएको छ। सो गाउँ र आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिरहेको प्रहरी स्रोतले बताएका छन्। स्थानीयका अनुसार गत एक वर्षमै त्यही बस्तीमा तीनवटा विवाह चिनियाँ नागरिकसँग भएका छन्।
वडाध्यक्ष सोनालाल साहका अनुसार, चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै आएका थिए। कानुन अनुसार पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ। तर पक्राउ परेकी युवतीको उमेर १८ वर्ष मात्र रहेको जानकारी प्राप्त भएको छ।

















