Logo

११ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूबाट संकलित रकमलाई परिचालन गर्दै हालसम्म १ खर्ब २६ अर्ब रुपैंया लगानी गरेको छ ।

कोषको आठौँ सामाजिक सुरक्षा कोष दिवसको अवसरमा कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित कुल १२६ अर्ब बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरिएको जानकारी दिएका हुन् । लगानी कार्यविधिबमोजिम कोषले अधिकांश रकम बैंकिङ तथा सरकारी ऋणपत्रहरूमा केन्द्रित गरेको छ । कार्यकारी निर्देशक अधिकारीकाअनुसार, कुल लगानीमध्ये ५८ अर्ब ८९ करोड बैंकको मुद्दति निक्षेपमा ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा र २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा लगानी गरिएको छ। यसैगरी, ४ अर्ब ५२ करोड डिबेन्चरमा र १ अर्ब ९५ करोड म्युचुअल फन्डमा लगानी भएको छ ।

कोषले २० हजार योगदानकर्तालाई सापटी बापत  ७ अर्ब ७९ करोड ८३ लाख लगानी गरेको छ। योगदानकर्ताहरूलाई वार्षिक ५दशमलव २ प्रतिशत ब्याजदरमा विशेष सापटी र ५ दशमलव ८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी उपलब्ध गराइएको अधिकारीले बताए । यद्यपि, हाल बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताका कारण प्रभावकारी रूपमा लगानी विस्तार गर्न नसकिएको अल्पकालीन चुनौती रहेको उनको भनाइ छ ।

अधिकारीले कोषको योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके वार्षिक १ खर्बसम्म रकम संकलन गर्न सकिने र उक्त रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने ठूलो सम्भावना रहेको औंल्याएका छन् । यसैबीच, श्रमिकहरूको आबद्धता सुनिश्चित गर्नका लागि कोषले ११४ वटा पालिकासँग एमओयू गरिसकेको र केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको जानकारी पनि उनले दिएका छन् ।


सम्बन्धित समाचार