११ मंसिर, काठमाडौं । नेपालको राजनीतिक वृत्तमा महत्त्वपूर्ण समीकरण निर्माण भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा), एकीकरण पक्षधर समूहबीच आज औपचारिक रूपमा एकीकरण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुवै समूहले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरेका हुन् । जारी सहमतिपत्रमा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् भने जसपा, एकीकरण पक्षधर समूहको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकताको आधारभूत सिद्धान्तमा विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन गर्दा भएका सबल र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्ने र कमी–कमजोरीहरू सच्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै संघीयता, सुशासन, समृद्धि, र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्य लिइएको सहमतिपत्रमा उल्लेख छ । यो एकताले नेपालको कम्युनिस्ट र समाजवादी धारको शक्ति सन्तुलनमा नयाँ प्रभाव पार्ने देखिएको छ।

















