११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारले वृद्धिको लय कायम राखेको छ ।
लगातार पाँचौँ दिन बढेको नेप्से परिसूचक आज १० दशमलव ४३ अंकले उकालो लागेर २६७६ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ । बुधबार ६ अर्ब ६९ करोडको कारोबार भएकोमा बिहीबार ६ अर्ब ६६ करोड रुपैंयाको सेयर किनबेच भएको छ।
आज बजारमा बैंकिङ समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ, जुन समूह १ दशमलव ४७ प्रतिशतले बढेको छ । बैंकिङसँगै विकास बैंक ० दशमलव १७ प्रतिशत, होटल तथा पर्यटन ० दशमलव ३३ प्रतिशत, जलविद्युत ० दशमलव ०१ प्रतिशत, लगानी ० दशमलव ७२ प्रतिशत, जीवन बीमा ० दशमलव १४ प्रतिशत र निर्जीवन बीमा ० दशमलव ०८ लगायतका समूहहरू पनि सकारात्मक रहे । यद्यपि, व्यापार, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र फाइनान्स समूहहरू भने सामान्य गिरावटमा रहे ।
बजारमा चार कम्पनीको मूल्यमा सर्किट लेभल १० प्रतिशतको वृद्धि भएको छ, जसमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक समावेश छन् । अर्कोतर्फ, हिमस्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७ दशमलव ७८ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

















