११ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ। आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्यो। सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९ तथा आरिफ शेखले ३९ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले समान १–१ विकेट लिए।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले ३५ र दिलिप नाथले ३१ रन बनाएका थिए। सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले समान ३/३ विकेट लिए।
यो जीतसँगै सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी ४ खेलमा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहेको छ।
आज दिउँसो ४ बजे तालिकाको सातौं स्थानमा रहेको जनकपुर बोल्ट्स र पुछारमा रहेको पोखरा एभेन्जर्सबीच खेल हुने छ। दुवै टोलीले यसअघि दुई खेलमा हार बेहोरेका छन् र अहिलेसम्म अङ्कविहीन छन्।
एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। दोस्रो संस्करणको प्रतियोगिता यही मङ्सिर १ गतेदेखि सुरु भएर आउँदो २७ गतेसम्म चल्नेछ।

















