Logo

११ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल २१ करोड ३ लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिकसम्मको अवधिमा संकलित राजस्व अपेक्षित मात्रामा नपुगे पनि गत वर्षको तुलनामा सुधार भएको महानगरले जनाएको छ।

महानगरका अनुसार सम्पत्ति करबाट मात्रै ७ करोड ५६ लाख रुपैयाँ उठेको छ। त्यस्तै भूमिगत–मालपोत करबाट ३७ लाख ६७ हजार ९८० रुपैयाँ, घरवहाल करबाट १ करोड ६० लाख ८६ हजार रुपैयाँ र पूर्वाधार सेवा प्रयोग शुल्कबाट २ करोड रुपैयाँ संकलन भएको छ।

यसैगरी, अखेटोपहार करबाट ५ करोड १० लाख रुपैयाँ राजस्व जुटाइएको छ भने अन्य सेवा शुल्कमार्फत १ करोड ४९ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ। महानगरले कर संकलनका लागि करिब २० शीर्षकमार्फत सेवा लिँदै आएको बताइएको छ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले राजस्व अभिवृद्धितर्फ जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाइरहेको बताए।
“महानगरको राजस्व बढाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। यद्यपि अपेक्षा अनुसार राजस्व संकलन हुन सकेको छैन,” मेयर सिंहले भने। उनले स्थानीय तहलाई कर तिर्नुपर्छ भन्ने जनचेतनाको कमीले अझै पनि राजस्व संकलनमा चुनौती रहेको बताए।


सम्बन्धित समाचार