Logo

११ मंसिर, काठमाडौं । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउँदै अनियमितता गरेको आरोपमा पूर्व नगरप्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिसमेत विरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार मुद्दामा समावेश व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन रहेका छन्। त्यस्तै निर्माण कम्पनी तथा त्यहाँका अध्यक्ष सन्तोषकुमार यादवमाथि पनि मुद्दा दायर गरिएको छ।

अख्तियारले उनीहरूलाई लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण र सौन्दर्यकरण गर्ने आयोजना प्रक्रियामा आपसी मिलेमतो गरी २९ लाख ४४ हजार १३७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ।

७५ लाख रुपैयाँ लागत अनुमान भएको उक्त परियोजनामा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँको प्रस्ताव पेश गरेको थियो। तर आपसी मिलेमतो गर्दै उच्च प्रस्ताव (७२ लाख २१ हजार ७३० रुपैयाँ) राख्ने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

पदको दुरुपयोग गर्दै सरकारी सम्पत्ति हिनामिना गरेको ठहर गर्दै हरेक प्रतिवादीबाट २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो असुल गर्न मागसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार