Logo

१२ मंसिर, काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरूले आफ्नो पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फिर्ता नलिए आगामी निर्वाचन सम्भव नहुने स्पष्ट चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बालुवाटारमा बोलाएका एमाले नेता र सरकारका प्रतिनिधिबीचको छलफलदेखि पार्टी नेतृत्वका यिनै असन्तुष्टी प्रमुख बने ।

एमालेका तर्फबाट छलफलमा सहभागी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला र सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच करिब एक घन्टासम्म कुरा भए पनि कुनै निचोड निस्किएन ।

एमालेका नेता महेश बर्तौलाले बैठकपछि भने, “अध्यक्ष ओलीको स्थानहद किन भन्ने प्रश्न उठायौँ । कुनै स्पष्ट जवाफ आएन । यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थानहद लगाएर निर्वाचन हुन सक्दैन।”

देशका दुई ठूला राजनीतिक नेतृत्वमध्ये एकलाई सीमित क्षेत्रमै थुनेर निर्वाचन घोषणा गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको पार्टी नेताहरूको तर्क छ ।

बुधबार प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमा बोलाएर आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन् । एमाले नेताहरूले यस कदमलाई “प्रधानमन्त्रीले एमालेसँग सम्बन्ध सुधार्न चाहेको संकेत” को रूपमा व्याख्या गरेका छन् । तर साथसाथै, उनीहरूले पार्टीलाई “सबैतिरबाट घेराबन्दी गर्ने प्रयास हुँदै आएको” भन्दै सरकारप्रति असन्तोष पनि व्यक्त गरे ।

एमालेले हाल संसद् पुनःस्थापनाको माग राख्दै सडकदेखि अदालतसम्म संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा भएको उच्च स्तरीय वार्तालाई महत्वपूर्ण मानिएको भए पनि राजनीतिक सहमति भने हुन सकेन ।

एक नेताले भने, “एमाले चुनावबाट भाग्ने दल होइन । तर नेतृत्वलाई नै थुनेर, घेराबन्दीमा राखेर निर्वाचन सम्भव हुँदैन।”

बालुवाटारमा भएको यो संवादले सम्बन्ध सुधारको संकेत त देखाएको छ, तर स्थानहदको विवाद फुकाउन नसकिँदा निर्वाचनका विषयमा कुनै ठोस सहमति बनेको छैन ।

“ओलीमाथिको स्थानहद हटेन भने, निर्वाचनको वातावरण बन्ने छैन” एमालेले स्पष्ट रूपमा भनेको छ ।

यस विषयमा अब सरकारको कदम कस्तो हुन्छ भन्ने राजनीतिक वृत्तमा उत्सुकता बढेको छ ।


सम्बन्धित समाचार