Logo

१२ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्देशन विपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी वन तथा वातावरण मन्त्री कञ्चन बिच्छालाई ६ महिनाका लागि निलम्बन गरेको छ। त्यससँगै उनलाई मधेश प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय पनि गरिएको छ।

एमाले नेता सरोज यादवको नेतृत्वमा मधेश प्रदेशमा सरकार गठन हुने क्रममा राप्रपाको आधिकारिक निर्णयविपरीत सरकारमा प्रवेश गरेकी बिच्छाविरुद्ध पार्टीले अनुशासनात्मक कारबाही अघि बढाएको हो। पार्टी निर्णयविपरीत कदम चालेपछि बिच्छा सरकारमा समेटिनु राप्रपा भित्र निरन्तर विवादको विषय बन्दै आएको थियो।

बिहीबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसअनुसार बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राप्रपाले बिच्छालाई प्रदेशसभा सदस्य पदबाट फिर्ता बोलाउने औपचारिक निर्णय पनि गरेको छ। पार्टी नेतृत्वले अनुशासन, एकता र संगठनात्मक मर्यादालाई प्राथमिकता दिने बताउँदै उक्त कदम आवश्यक भएको टिप्पणी गरेको छ।

यससँगै मधेश प्रदेश सरकारमा बिच्छाको सांसद र मन्त्रीको स्थिति जटिल बन्दै गएको छ भने राप्रपा भित्र यस घटनाले झनै राजनीतिक तरंग सिर्जना गरेको छ।


सम्बन्धित समाचार