१२ मंसिर, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो। दुर्घटनामा परि पर्साको वीरगञ्ज महानगरपालिका–१६, नागुवा घर भई हेटौँडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्।
गम्भीर रूपमा घाइते डोमलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता बोगटीले जनाए।
दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटना कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान जारी छ।

















