१२ मंसिर, बारा । बाराको भलुही चौकछेउको झाडीमा एक पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ।
मृतक व्यक्ति भलुहीस्थित नेपाल नीर पानी फैक्ट्रीमा काम गर्दै आएकाले प्रारम्भिक रूपमा उनको नाम ‘मानसी’ भनेर उल्लेख गरिएको छ, तर औपचारिक पहिचान भने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको उमेर करिब ३० वर्ष रहेको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, घटना राति नै भएको देखिन्छ। स्थानीयवासीले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक रूपमा यो सामान्य प्रकृतिको घटना नभएको प्रष्ट संकेत पाइएको प्रवक्ताले बताएका छन् ।
प्रहरीका अनुसार मृतकको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलको अवस्था हेर्दा योजनाबद्ध हत्या भएको आशंका छ। शवलाई पोस्टमार्टमका लागि कलैया अस्पताल लैजाने प्रक्रिया भइरहेको छ।
घटना भएको क्षेत्र र मृतक कार्यरत पानी फैक्ट्री वरपर रहेका व्यक्ति, कर्मचारी, व्यवस्थापन, सुरक्षागार्ड सँग बयान संकलन सुरु गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, फैक्ट्री आसपास राखिएका सीसीटीिभी क्यामेराका सबै फुटेज पनि प्रहरीले सुरक्षित गरी विश्लेषण गरिरहेको छ।
स्थानीयवासीहरूले राति फैक्ट्री आसपास केही अपरिचित व्यक्तिहरू आवतजावत गरेको दाबी गरे पनि त्यसको पुष्टि भने अझै भइसकेको छैन ।
घटनापछि भलुही चौक र आसपासको क्षेत्रमा प्रहरीको गस्ती र सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनाबारे थप अनुगमन जारी रहेको र अनुसन्धानको प्रगति अनुसार थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

















