१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोटहरू छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (हालको विनिमय दरअनुसार लगभग २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्ने ठेक्का चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई दिने निर्णय गरेको हो ।
यस ठेक्का अन्तर्गत, राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोटहरू छपाई गर्नेछ ।
यसको लागत विश्लेषण गर्दा अहिलेको विनिमय दर अनुसार प्रति एक हजार दरको नोट छाप्न ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले दिएको जानकारी अनुसार, गत भदौ १० गते आह्वान गरिएको बोलपत्रमा सहभागी भएका कम्पनीहरूमध्येबाट उक्त चिनियाँ कम्पनीलाई सारभूत रूपमा प्रभावग्राही ठहर गर्दै छनोट गरिएको हो।

















