१२ मंसिर,वीरगञ्ज । वर्षौंदेखि अलपत्र परेको चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का सरकारले तोकेको छ। हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय वीरगञ्जले सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का औपचारिक रूपमा रद्द गरिएको जानकारी दिएको हो।
४१ मिटर लामो पुल निर्माणको जिम्मा लोहनी एण्ड ब्रदर्श प्रालि, भरतपुरलाई दिइएको थियो। तर कम्पनीले लामो समयसम्म निर्माण कार्य अघि नबढाएको र पटक–पटक सम्पर्कका प्रयासहरू असफल भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ।
निर्देशनालयका अनुसार ठेकेदारलाई ‘ठेक्का किन नतोडिने ?’ भन्ने विषयमा १५ दिनभित्र स्पष्टीकरण पेस गर्न आग्रह गरिएको थियो। तर कम्पनीले कुनै प्रतिक्रिया नदिएपछि र काम सुरु समेत नगरेकाले कानूनी व्यवस्था अनुसार ठेक्का रद्द गरिएको हो।
सूचनामा भनिएको छ— ठेक्का तोडिएसँगै अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(८) अनुसार कार्य सम्पादन जमानत जफत गरिनेछ। साथै बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुल–उपर गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइनेछ।
निर्देशनालयले हालसम्मका कामको अद्यावधिक विवरण, बाँकी कामको नापजाँच तथा लागत मूल्यांकनका लागि निर्माण व्यवसायी वा उनका प्रतिनिधिलाई १५ दिनभित्र कार्यालय उपस्थित हुन समेत निर्देशन दिएको छ। उपस्थिति नभएमा कार्यालय स्वयं नापजाँच गरी प्रक्रिया अघि बढाइने सूचना जारी गरिएको छ।
यसअघि पनि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निर्माणसम्बन्धी ठेक्का रद्द गरेको थियो।


















