१२ मंसिर,रौतहट। रौतहटको फतुवा–बिजयपुर नगरपालिका करार कर्मचारीको १६ दिनदेखि जारी तालाबन्दीका कारण पूर्णतः ठप्प बनेको छ। नगरपालिका तथा ११ वटै वडा कार्यालय बन्द भएपछि दर्ता, प्रमाणीकरणदेखि प्रशासनिक फाइल प्रक्रिया सबै अवरुद्ध भएको छ, जसका कारण सेवाग्राही मारमा परिरहेका छन्।
करार अवधि नविकरण नभएको विरोधमा ८७ जना करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले दैनिक कार्यालय समयमा धर्ना बसिरहेका छन् र लिखित सहमति प्राप्त नहुँदासम्म तालाबन्दी नखुल्ने बताए। आन्दोलनरत कर्मचारी प्रतिनिधि सुबोध यादवका अनुसार, बारम्बार ढिलाइ भएपछि बाध्यतावश तालाबन्दी गर्नुपरेको हो।
नगरपालिकामा प्रशासनिक नेतृत्व अभावकै कारण समस्या थपिएको देखिन्छ। कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले प्रमुख प्रशासकीय अधिकृत नहुँदा करार अवधि विस्तारलगायतका कार्य अघि नबढेको बताइन्। दुई साताअघि प्रमुख प्रशासकीय अधिकृत भारत यादवको सरुवा भएपछि बुधबारदेखि सिम्रौनगढ नगरपालिकाका दशौँ तहका अधिकृत मदनकुमार थापालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। थापा शुक्रबार हाजिर हुने अपेक्षा गरिएको छ।
खातुनले नगर कार्यपालिका बोर्डको आगामी बैठकमा सबै ८७ करार कर्मचारीको सेवा अवधि थप्ने प्रस्ताव लैजाने बताइन्। कानुनअनुरूप म्याद बढाउन मिल्नेहरूको अवधि नवीकरण गरिने उनको भनाइ छ। यद्यपि मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम रोकिएपछि नगरवासीले तिर्न बाँकी रहेको करिब २ करोड रुपैयाँ बराबरको विद्युत् महसुल भुक्तानी प्रक्रियासमेत अवरुद्ध भएको बताइन्।
तालाबन्दीले जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता फाइल, भवन नक्सा प्रक्रिया, व्यवसाय दर्ता लगायतका अत्यावश्यक सेवा रोकिँदा दैनिक कामकाजका लागि कार्यालय धाउनुपर्ने नागरिक निराश हुँदै फर्किन बाध्य छन्। स्थानीयवासीले कर्मचारी र नगर नेतृत्व दुवैलाई छिटो सहमतिमा पुगेर सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।

















