१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनको समय र स्वरूपलाई लिएर विवाद चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासमक्ष एउटा नयाँ र रचनात्मक विकल्प अघि सारेका छन् ।
बिहीबार साँझ सभापति देउवासँग भएको छलफलमा महामन्त्री शर्माले यही महिनाभित्र विशेष महाधिवेशन गर्ने र त्यसपछि आगामी मंसिरमा १५औँ नियमित महाधिवेशन सम्पन्न गर्न सकिने प्रस्ताव राखेका हुन् । महामन्त्री शर्माको यो प्रस्तावले पार्टीभित्र देखिएको चुनावअघि वा पछि महाधिवेशन गर्ने विवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । उहाँको योजनाअनुसार विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछ र त्यसपछि हुने नियमित महाधिवेशनबाट अर्को नयाँ नेतृत्व चयन गर्न सकिनेछ ।
पार्टीको केन्द्रीय समिति बैठक विशेष महाधिवेशनको एजेन्डामा सहमति जुट्न नसक्दा निरन्तर सरिरहेका बेला, सभापति देउवाले बिहीबारदेखि पार्टीका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् । महाधिवेशनको विषयमा सहमति जुटाउनका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् ।

















