१२ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८४ का लागि समानुपातिक बन्दसूचीका उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी सार्वजनिक गरेको छ। पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्कमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रक्रिया औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
सभापति पन्तका अनुसार उम्मेदवार छनोट पूर्ण पारदर्शी, योग्य र वैज्ञानिक आधारमा गर्न पार्टीको केन्द्रीय समितिले मापदण्ड तयार गरेको छ। उनका अनुसार जिम्मेवारी वहन क्षमता, नेतृत्व, राजनीतिक नजिकपन, समावेशीता तथा प्रारम्भिक निर्वाचन (प्राइमरी) अनिवार्यता जस्ता तत्वहरूलाई प्रमुख रूपमा मूल्यांकनमा समावेश गरिनेछ।
उम्मेदवार बन्ने व्यक्तिले कानुन अनुसार अयोग्य नठहरिएको, प्रहरी रिपोर्ट सफा भएको, कालोसूचीमा नरहेको, पारिवारिक आधारभूत आवश्यकताहरू पूरा गरेको, वैध आम्दानी स्रोत रहेको, सम्पत्ति विवरण पेश गरेको, पार्टी अनुशासन समितिबाट अयोग्य नठहरिएको, अन्य राजनीतिक दल त्यागेको तथा सार्वजनिक पदको दुरुपयोग नगरेकोसहित ९ वटा मुख्य योग्यता पूरा गर्नुपर्ने पन्तले स्पष्ट पारे।
“हाम्रो लक्ष्य नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, राष्ट्रिय एकता, सुशासन, दिगो शान्ति र समृद्धि सुनिश्चित गर्नु हो,” पन्तले बताए, “यही उद्देश्यसहित फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी सुरु गरिएको छ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद कुमार, शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, पर्सा जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेश संचार प्रमुख राम सरार्फ, प्रदिप पटेलसहित अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

















