१२ मंसिर, काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा ओभरसिज प्रालिले नेपालमा इलेक्ट्रिक डिभाइसमा राखेर तान्नु पर्ने विशेष प्रकारको चुरोट (टोबाको स्टिक्स) आयातमा गम्भीर राजस्व छली गरेको तथ्य फेला परेको छ ।
कम्पनीका प्रमुख सुलभ अग्रवाल संलग्न रहेको यो प्रकरणमा भन्सार विभागका कर्मचारीहरूसँग मिलेमतो गरी विभागको आशिकुडा प्रणाली मै छेडखानी गरेर चालू आर्थिक वर्षमा करिब ७० लाख ८८ हजार रुपैयाँ भन्दा बढी राजस्व छली गरिएको पाइएको छ ।
भन्सारकै मिलेमतोको आशंका
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार एचएस कोड २४०४११०० मा आयात हुने ‘टोबाको स्टिक्स’ मा कानुनबमोजिम लाग्ने १४३.६२८ प्रतिशत राजस्व महशुलभन्दा निकै कम तिरेर सामान नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म ९६ लाख रुपैयाँ बराबरको टोबाको स्टिक्स आयात भएकोमा विभागले जम्मा ६७ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । त्यसको वास्तविक राजस्व संकलन १ करोड ३७ लाख ८८ हजार रुपैयाँ हुनुपर्थ्यो । यसरी आधाभन्दा बढी राजस्व छली भएको स्पष्ट देखिएको छ ।
जगदम्बा ओभरसिज चुरोट र मदिराको आयातकर्ता तथा वितरक हो, जसले अन्तर्राष्ट्रिय टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेशनलका उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ । सुलभ अग्रवाल यसअघि कोरोना परीक्षणका लागि प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोपमा पनि पक्राउ परेका थिए र उनी नेपालमा गैरकानुनी मानिने भेपजन्य सामाग्रीको व्यापारमा संलग्न भएपछि विवादमा छन् ।
भन्सार प्रणालीमा नै छेडखानी गरी गरिएको यो राजस्व छलीले प्रणालीगत कमजोरी र भन्सार कर्मचारीको मिलेमतोलाई उजागर गरेको छ । यद्यपि, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले यस सम्बन्धमा अनभिज्ञता व्यक्त गरेका छन् । जाँचपास परीक्षण कार्यालयले भने राजस्व गुमेको क्षेत्रमा उजुरी आएमा मात्र अनुसन्धान अघि बढ्ने बताएको छ, जसले गर्दा यस्ता ठूला राजस्व छलीका घटनामाथि स्वतःस्फूर्त कारबाही हुन नसक्ने देखिएको छ ।

















