Logo

११ मंसिर, काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पतालको उपाधि पाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा मूल्यांकनको विवरण सार्वजनिक गर्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताए।

मूल्यांकनमा दोस्रो स्थान बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ। त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक हासिल गरेका छन्।

राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूको प्रदर्शन भने औसतभन्दा कम देखिएको छ। वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९, र नारायणी अस्पतालले ५६ अंक प्राप्त गरेका छन्। डा. पौडेलका अनुसार यी अस्पतालहरू सुधारको प्रक्रियामा छन्।

तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पताल निकै कमजोर अवस्थामा देखिएका छन्। गजेन्द्रनारायण सिंहले ३६ प्रतिशत र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र न्यूनतम सेवा मापदण्ड पूरा गरेका छन्।

मन्त्रालयका अनुसार मूल्यांकनमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचक समावेश गरिएको थियो।

डा. पौडेलले भने, “नागरिक स्वास्थ्य संस्थामा पुगेका छन्, तर स्वास्थ्य प्रणालीले गुणस्तरीय सेवा दिन सकेको छैन।”

यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पताल समावेश गरिएका थिए।


सम्बन्धित समाचार