१२ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको नियमित चेकजाँचका क्रममा वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उक्त रकम बरामद गरिएको हो।
मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई रोकि गरेको चेकजाँचमा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइछिपाइ राखिएको १० लाख रुपैयाँ फेला परेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा भारत विहार, मोतीहारी, थाना रक्सौल–१ निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। साहको साथबाट हजार दरका ७०० थान र पाँच सय दरका ६०० थान गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

















