Logo

१२ मंसिर, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिलाई चुनौती दिँदै दायर गरिएको रिट निवेदनको विवादमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ भइरहेको यो महत्त्वपूर्ण मुद्दामाथि अब सोमबार सुनुवाइ हुने सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् । मधेस प्रदेश सरकार गठनका विषयमा दायर भएका तीन वटा छुट्टाछुट्टै रिटमाथि एक साथ सुनुवाइ भइरहेको छ।

विवादको मुख्य विषय संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको सम्भावना हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६२ (३) अनुसार नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त दिनु रहेको छ । प्रदेश प्रमुख भण्डारीले कात्तिक २४ गते महोत्तरीको बर्दिबासमा रहेको पानस होटलमा हतारमा मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएकी थिइन्, जसपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई पदमुक्त गरेका थिए ।

मुख्यमन्त्रीको यसरी नियुक्तिपछि मधेस प्रदेशका सांसदहरू नै आन्दोलनमा उत्रिएका थिए । सर्वोच्च अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै यसको अन्तिम किनारा नलागेसम्म मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई कुनै पनि नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।


सम्बन्धित समाचार