Logo

१३ मंसिर, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वीरगञ्ज भन्सार नाका हुँदै रु ५४ अर्ब १२ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयातबाट मात्र राज्यले रु २२ अर्ब ९० करोड राजस्व आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ५१ अर्ब १९ करोड मूल्यबराबरका पेट्रोलियम पदार्थ आयात हुँदा रु २० अर्ब ८९ करोड राजस्व संकलन भएको थियो। तुलनात्मक रूपमा यो वर्ष पेट्रोलियम पदार्थको आयात मूल्यमा रु २ अर्ब ९३ करोड बराबरको वृद्धि देखिएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु वर्षको पहिलो चार महिनामा पेट्रोलियम वस्तु आयात मात्र नभई त्यसबाट उठ्ने राजस्व पनि ९.६० प्रतिशतले वृद्धि भएको छ।

कात्तिक मसान्तसम्म वीरगञ्ज नाकाबाट दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको कार्यालयले जनाएको छ। यसको मूल्य रु २४ अर्ब ४० करोड बराबर रह्यो भने सोही आयातबाट रु १० अर्ब ७३ करोड राजस्व संकलन भयो।

गत वर्षको सोही अवधिमा रु २१ अर्ब ८३ करोड मूल्य बराबरको डिजेल आयात हुँदा रु ९ अर्ब ७८ करोड राजस्व उठेको थियो।

चार महिनामा एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ, जसको मूल्य रु १४ अर्ब २७ करोड बराबर पर्छ। पेट्रोल आयातबाट भन्सारले रु ९ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ।

गत वर्ष यही अवधिमा रु १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा रु ८ अर्ब ११ करोड राजस्व संकलन भएको थियो।

चालु आवका चार महिनामा ९ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ। यसको मूल्य रु ९ अर्ब ७७ करोड रह्यो भने त्यसबाट रु १ अर्ब ८३ करोड राजस्व संकलन भयो।

तर गत वर्ष भने रु ११ अर्ब १० करोड मूल्य बराबरको १० करोड ३ लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात हुँदा रु २ अर्ब ८ करोड राजस्व संकलन भएको थियो। यस वर्ष ग्यास आयात र राजस्व दुवै घटेको भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सारको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको समग्र आयात तथा राजस्व वृद्धि सकारात्मक देखिएको छ। भन्सार प्रशासक ज्ञवालीका अनुसार, इन्धनको आयातमा देखिएको यो वृद्धि आर्थिक क्रियाकलाप बढ्दै गएको संकेत पनि हो।


सम्बन्धित समाचार