१३ मंसिर,काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आज (मंसिर ११) देशभर प्रतिनिधि छनोट प्रक्रिया सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सबै निर्वाचन क्षेत्रबाट मनोनयन कार्य सम्पन्न भइसकेको छ भने सहमति नजुटेका स्थानहरूमा बिहान ८ बजेदेखि निर्वाचनमार्फत प्रतिनिधि छनोट भइरहेको छ। मतदान प्रक्रिया दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विभिन्न जिल्लाले आफ्नो सुविधाअनुसार मतदान समय तोकेका छन्।
प्रतिनिधि छनोटमा संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि चुन्ने तयारी गरिएको छ। साथै प्रवास, जनसंगठन तथा विभागहरूबाट करिब १ सय प्रतिनिधि चयन हुनेछन्। आगामी महाधिवेशनमा कुल करिब २२ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
गौतमका अनुसार केन्द्रीय संगठन विभागले तयार गरेको प्रस्ताव सचिवालय बैठकले पारित गरिसकेपछि सबै मातहतका कमिटीमा पठाइएको छ। सोही प्रस्तावका आधारमा प्रतिनिधि चयन भइरहेका छन्।
सचिवालयको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १ हजार २ सय सदस्यका लागि खुला दुई र महिला एक प्रतिनिधि निर्वाचित गर्नुपर्नेछ। छानिएका प्रतिनिधिमध्ये अनिवार्य रूपमा एक जना ४० वर्षभन्दा कम उमेरको युवा हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै प्रति ८ सय सदस्यमा एक महिला प्रतिनिधि, र दलितका लागि प्रति ५ सय सदस्यमा एक प्रतिनिधि चयन गर्ने व्यवस्था छ।
ट्रेड युनियनबाट प्रदेशगत सात प्रतिनिधि रहनेछन् भने जनसंगठनबाट प्रतिजनसंगठन पाँच प्रतिनिधि रहने व्यवस्था गरिएको छ। महासंघीय संरचनामा रहेका जनसंगठनबाट सात प्रतिनिधि चयन गरिनेछ। विभाग र कार्यालयबाट एक–एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवास शाखाबाट भने महादेशअनुसार पाँच प्रतिनिधि चयन हुनेछन्।
महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि रहनेछन्। विज्ञ तथा अन्य संरचनाबाट समेत प्रतिनिधित्व रहनेछ—अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ तथा सल्लाहकार परिषदबाट २५ प्रतिनिधि।
एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० रहेको छ। यसअनुसार प्रदेशबाट ४५, प्रतिनिधि सभा क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१ र ट्रेड युनियनबाट ४९ प्रतिनिधि रहने अनुमान छ।
प्रवास, जनसंगठन तथा विभागीय तर्फबाट समेत गरी करिब १९ सयभन्दा बढी प्रतिनिधि हुनेछन्। कुल प्रतिनिधिमध्ये पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। पछिल्लो सचिवालय निर्णयले सदस्य अनुपात परिवर्तन भएकाले केही प्रतिनिधि थप हुनसक्ने बताइएको छ।
एमालेले तोकेको विधिअनुसार प्रतिनिधि छनोट प्रक्रिया अहिले देशभर जारी छ।

















