Logo

१३ मंसिर,वीरगञ्ज । पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन गरिएको छ। प्रमोद यादवको अध्यक्षतामा गठन भएको समूहको घोषणा शनिबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले गरेका हुन्।

नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएका छन्। सदस्यमा आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर, एन्जल चौधरीलगायत समावेश छन्। त्यस्तै, सल्लाहकार समितिमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो रहेका छन्।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयको भौतिक संरचना लोकतन्त्र आएपछि सकारात्मक रूपमा सुधार भए पनि विषयगत शिक्षकको अभावका कारण शिक्षाको गुणस्तर अपेक्षित रूपमा बढ्न नसकेको बताए। उनले पछिल्लो समय ‘युट्युबर आतंक’ का नाममा शिक्षकहरूलाई अनावश्यक तनाव दिइएको गुनासो गर्दै यसले पठन–पाठनमा प्रतिकूल प्रभाव परेको टिप्पणी गरे।

उनले केही जनप्रतिनिधिले आफ्ना नातागोतालाई योग्यताविहीन रूपमा ईसीडी शिक्षकमा नियुक्त गर्ने प्रवृत्तिले पनि विद्यालयमा समस्या बढाएको आरोप लगाए। “त्रसित शिक्षकबाट कस्तो शिक्षण अपेक्षा गर्ने?” भन्दै उनले शिक्षकलाई अनावश्यक दबाब नदिई समस्याको समाधनमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा उपप्राध्यापक डा. सुष्मा तिवारीले २०४६ सालपछि शिक्षामा पहुँच बढे पनि राज्यको लगानी भने उल्टो घट्दै गएको बताइन्। उनले मधेस प्रदेशको साक्षरता दर सातै प्रदेशमध्ये सबैभन्दा कम ६९ प्रतिशत मात्र रहेको जानकारी दिँदै पर्सा र वीरगन्जका सामुदायिक विद्यालयमा शिक्षकको कमी, शौचालयको अभाव, भौतिक पूर्वाधार कमजोर, अपांगता–मैत्री वातावरणको अभावजस्ता समस्या गम्भीर बन्दै गएको बताइन्।

उनका अनुसार दाताले प्रदान गरेका धेरै कम्प्युटर विद्यालयमा भए पनि दक्ष प्रशिक्षक नहुँदा ती उपकरण प्रयोगमै नआएको छ।

कार्यक्रम शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवाललगायतको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार