Logo

१३ मंसिर,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–६ स्थित किरण वेभरेज प्रालिमा कार्यरत प्रबन्धक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले १८ घण्टाभित्रै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले फरार अवस्थामा रहेका अभियुक्तलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकालाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामै राखिएको छ। उनीहरूको पहिचान खुलाइएको छैन। ‘आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी खेम प्रसाद नेपालले बताए।

सर्लाहीको धनकौल गाउँपालिका–२ का ४२ वर्षीय रामकिशोर सिंहलाई बिहीबार राति करिब ५० मिटर उत्तरतर्फ धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। स्थानीयले शव शुक्रबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा मुचुल्का उठाएर खोजतलास थालेको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा अभियुक्तसम्म पुग्न सफल भएको जनाएको छ। प्रहरी घटनाको कारण र अन्य संलग्नबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।


सम्बन्धित समाचार