Logo

१३ मंसिर,सुर्खेत। शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ।

आचार्यका आफन्त र स्थानीयबासीले सडक अवरुद्ध गर्दै दुर्घटना ‘सन्दिग्ध’ भएको भन्दै कडा छानबिनको माग गरेका छन्। मुलपानी चोक, एरिचोक लगायतका क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको छ।

दुर्घटना शुक्रबार राति वीरेन्द्रनगर–२ को वडा कार्यालय अगाडिको सडकमा भएको थियो। मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको यामबहादुर शाहीको मोटरसाइकल र पत्रकार आचार्यको स्कुटर एक आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक शाही पनि घाइते छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तर, आचार्यका परिवारले घटनास्थलमा गम्भीर त्रुटि भएको आशंका गरेका छन्। उनीहरूले प्रहरीले प्रमाण नष्ट गरेको, मुचुल्का नउठाई पानी खनेर छानबिनमा ढिलाइ गरेको आरोप लगाएका छन्। यही कारण उनीहरू शनिबार बिहानदेखि सडकमा उत्रेर आवाज उठाएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले भने, “गम्भीर घाइतेलाई तत्काल उपचारमा पठाइएको थियो, त्यसैले प्रहरीले ढिलाइ गरेको छैन,” भनेर प्रतिक्रिया दिएका छन्।

वीरेन्द्र आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेशन म्यानेजर र प्रेस सेन्टर कालिकोटका अध्यक्ष पनि थिए।


सम्बन्धित समाचार