१३ मंसिर,काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी पुरुष यू–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै आगामी यू–१९ एसिया कपमा छनोट भएको छ।
सेमिफाइनल खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया केवल ५१ रनमै अलआउट भएको थियो। ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७.२ ओभरमा यो स्कोर पुर्यायो।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ७.५ ओभरमै केवल एक विकेट गुमाएर ५५ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो। नेपाली टोलीका वंश क्षेत्रीले २७ बलमा तीन चौकासहित अविजित २३ रन बनाए भने निश्चल क्षेत्रीले १८ बलमा दुई चौकासहित अविजित १५ रन जोडे। ओपनर निरजकुमार यादव चार रनमै आउट भए।
बलिङतर्फ नितेशकुमार पटेलले चार विकेट लिए, आठ ओभरमा दुई मेडन सहित केवल २४ रन खर्च गर्दै। चन्दन रामले पनि पाँच ओभरमा तीन विकेट लिँदै १७ रन खर्चे। अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट लिए। मलेसियाका लागि महजाह पानगी (१३) र मुहम्मद फाथुल मुइन (११) ले मात्र दोहोरो अंकमा रन बनाए।
नेपाल समूह ‘ए’को र मलेसिया समूह ‘डी’को विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए। अर्को सेमिफाइनल आयोजक यूएई र ओमानबीच खेलिनेछ।
समूह चरणमा नेपालले लगातार दुई जित हात पारेको थियो। पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा हङ्कङलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो।
यो प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ र तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान छ। फाइनलमा पुगेको टोली सिधै एसिया कपमा प्रवेश गर्नेछ भने सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ र विजेता टोली पनि एसिया कपमा छनोट हुनेछ।
यू–१९ एसिया कपको १२औं संस्करण आगामी डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमै आयोजना हुँदैछ। आठ टोली सहभागी हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन्।

















